दाइजो मृत्यु प्रकरणमा पूर्व न्यायाधीश पक्राउ, भारतमा फेरि चर्कियो बहस
नयाँ दिल्ली । भारतको चर्चित दाइजो मृत्यु प्रकरणमा केन्द्रीय अनुसन्धान ब्युरो (सीबीआई) ले मृतक मोडल तथा अभिनेत्री ट्विशा शर्मा की सासू तथा सेवानिवृत्त न्यायाधीश गिरिबाला सिंह लाई पक्राउ गरेको छ।
३३ वर्षीया ट्विशा शर्मा गत मे १२ मा मध्य प्रदेशको भोपालस्थित ससुराली घरमा मृत अवस्थामा फेला परेकी थिइन्। विवाह भएको पाँच महिनामै उनको रहस्यमय मृत्यु भएपछि घटनाले भारतभर व्यापक चर्चा पाएको छ।
मृतकका परिवारले ट्विशाका श्रीमान् समार्थ सिंह र उनकी आमा गिरिबाला सिंहमाथि दाइजोको माग गर्दै मानसिक तथा शारीरिक यातना दिएको र अन्ततः हत्या गरेको आरोप लगाएका छन्। परिवारले विवाहपछि निरन्तर दबाब र दुर्व्यवहार भएको दाबी गर्दै गर्भवती अवस्थामासमेत ट्विशामाथि अन्याय भएको आरोप लगाएको छ।
घटनाको अनुसन्धान गरिरहेको सीबीआईले बिहीबार लामो सोधपुछपछि गिरिबाला सिंहलाई नियन्त्रणमा लिएको हो। यसअघि मध्य प्रदेश उच्च अदालतले उनको अग्रिम जमानत निवेदन खारेज गर्दै अनुसन्धानका लागि पर्याप्त आधार रहेको उल्लेख गरेको थियो।
यता सिंह परिवारले भने सबै आरोप अस्वीकार गरेको छ। उनीहरूले ट्विशालाई मानसिक स्वास्थ्यसम्बन्धी समस्या रहेको र उनले आत्महत्या गरेको दाबी गरेका छन्। गर्भपतनसम्बन्धी निर्णय पनि ट्विशाकै इच्छाअनुसार भएको उनीहरूको भनाइ छ।
यसअघि ट्विशाका श्रीमान् समार्थ सिंह पनि फरार भएपछि पक्राउ परेका थिए र हाल प्रहरी हिरासतमा रहेका छन्। घटनापछि दर्ता भएको दाइजो मृत्युसम्बन्धी मुद्दाको अनुसन्धान हाल सीबीआईले गरिरहेको छ।
पूर्व सौन्दर्य प्रतियोगिता विजेता तथा कलाकार रहेकी ट्विशाको मृत्युले भारतमा अझै कायम रहेको दाइजो प्रथासम्बन्धी हिंसाको विषयलाई फेरि राष्ट्रिय बहसको केन्द्रमा ल्याएको छ। कानुनी रूपमा दाइजो प्रथा प्रतिबन्धित भए पनि यससँग सम्बन्धित हिंसा र मृत्युका घटनाहरू अझै रोकिएका छैनन्।
ट्विशाको परिवारले प्रारम्भिक अनुसन्धानमा लापरबाही भएको आरोप लगाएपछि दोस्रो पोस्टमार्टम गरिएको थियो। त्यसपछि मात्र उनको अन्त्येष्टि सम्पन्न गरिएको परिवार स्रोतले जनाएको छ। अहिले सम्पूर्ण घटनाको सत्यतथ्य पत्ता लगाउन सीबीआईले विस्तृत अनुसन्धान अघि बढाइरहेको छ।


Tulac








