काठमाडौं । गायक तथा निर्माता रामकृष्ण ढकाल द्वारा निर्मित नेपाली चलचित्र मालती मंगले को अस्ट्रेलिया प्रदर्शन अधिकार बिक्री भएको छ। चलचित्रको अस्ट्रेलिया वितरण अधिकार माउन्ट पुमोरी इभेन्ट्स प्रालिले खरिद गरेको निर्माता ढकालले जानकारी दिएका छन्।
चलचित्रको अस्ट्रेलिया प्रिमियर आगामी जुलाई ४ मा सिड्नीस्थित ग्रान्ड प्यालेस सेन्टरमा रेड कार्पेट समारोहसहित आयोजना गरिने भएको छ। प्रिमियर कार्यक्रममा सहभागी हुन निर्माता ढकाल स्वयं अस्ट्रेलिया जाने तयारीमा छन्। अस्ट्रेलियामा चलचित्र प्रदर्शनको व्यवस्थापन भने नेपाली चलचित्र निर्देशक शोभित बस्नेत ले गर्नेछन्।
विजय बराल, वर्षा राउत र मेक्सम गौडेल को मुख्य अभिनय रहेको चलचित्र वैशाख २५ गतेदेखि नेपालभर प्रदर्शनमा आएको थियो। नेपालमा सफल प्रदर्शनपछि चलचित्र अमेरिकाका विभिन्न सहरमा समेत प्रदर्शन भइरहेको छ भने निकट भविष्यमा युरोपका विभिन्न मुलुक र जापानमा पनि रिलिज गर्ने तयारी भइरहेको निर्माण पक्षले जनाएको छ।
ग्रामीण परिवेशमा आधारित चलचित्रले अभावका बीच प्रेमपूर्वक जीवन बिताइरहेका दम्पतीको सम्बन्धमा सामाजिक भ्रम र अविश्वासले ल्याउने उतारचढावको कथा प्रस्तुत गरेको छ।
रानी फिल्म्सको ब्यानरमा निर्माण भएको चलचित्रमा प्रकाश घिमिरे, सुवर्ण थापा, उमेश सुनाम, सुस्मा निरौला र सरिता गिरी लगायतका कलाकारको अभिनय रहेको छ। चलचित्रमा रोशन विश्वकर्माको कोरियोग्राफी, महेश पौडेलको छायांकन, रोमी मोसेजको सम्पादन तथा संयोग गुरागाईंको कथा, पटकथा र संवाद रहेको छ।
नेपाली सुगम संगीतका चर्चित गायक रामकृष्ण ढकालले यसअघि आफ्नो सांगीतिक संघर्षमा आधारित आशीर्वाद मा अभिनय गरेका थिए। अब भने उनले निर्माता बनेर ‘मालती मंगले’मार्फत नेपाली चलचित्र क्षेत्रमै नयाँ यात्रा अघि बढाएका छन्।