रङ्गमञ्चबाट फिल्मतर्फ डेभिड बिष्ट को फड्को, ‘जुबा’मा महत्त्वपूर्ण भूमिका
सुनसरी । इटहरीको रङ्गमञ्चबाट उदाएका कलाकार डेभिड बिष्ट अब नेपाली फिल्म क्षेत्रमा नयाँ पहिचान बनाउन तयारीमा छन्। निर्देशक प्रकाश कर्ण को बहुप्रतिक्षित फिल्म जुबा मा उनी महत्त्वपूर्ण भूमिकाका लागि छनोट भएका हुन्, जसलाई मुख्य पात्रसरह प्रभावशाली मानिएको छ।
अहिले उनी काठमाडौंमा फिल्मको ‘वर्कसप’मा व्यस्त छन्। अडिसन पार गर्दै फिल्ममा प्रवेश गरेका डेभिड आफ्नो भूमिकालाई लिएर निकै उत्साहित देखिन्छन्। उनका अनुसार फिल्ममा उनको चरित्र मुख्य पात्रसरह नै प्रभावशाली रहनेछ।
निर्देशक प्रकाश कर्ण ले पनि डेभिडको अभिनय क्षमताको खुलेर प्रशंसा गरेका छन्। “हामीले कल्पना गरेको पात्रलाई डेभिडले अझ जीवन्त र प्रभावशाली बनाएका छन्,” उनले भने।
इटहरीस्थित ‘कलालय’मा ७ वर्षदेखि निरन्तर रङ्गमञ्चमा सक्रिय डेभिडले ‘सत्रु’, ‘रिफन्ड’, ‘बहुलकाजीको सपना’ र ‘योगमाया’ लगायत करिब एक दर्जन नाटकमा सशक्त अभिनय गरिसकेका छन्। उनी ‘तिनतारा’, ‘बलिदान’ र ‘विमान’ जस्ता फिल्ममा समेत देखिइसकेका छन् भने ‘ज्याक्यस’, ‘पाँच हजार’ र ‘गाढा १७’ जस्ता छोटो फिल्ममा पनि अभिनय गरिसकेका छन्।
रङ्गमञ्चलाई आफ्नो पाठशाला मान्ने डेभिडले अब फिल्म ‘जुबा’मार्फत नेपाली चलचित्र क्षेत्रमा नयाँ उचाइ हासिल गर्ने अपेक्षा गरिएको छ।

Tulac 





