केकी अधिकारीको होली सन्देश: 'सहिद र भविष्य सम्झिएर विवेकपूर्ण मतदान गरौँ'
अभिनेत्री केकी अधिकारीले होलीको अवसरमा नेपालीहरूलाई 'विवेकपूर्ण मतदान' को विशेष अपील गरेकी छन्। परिवारसँग होली मनाउँदै गर्दा उनले सामाजिक सञ्जालमार्फत 'असत्यमाथि सत्यको जित' लाई केवल कथामा मात्र सीमित नराख्न आग्रह गरिन्।
काठमाडौँ क्षेत्र नं. ३ की मतदाता केकीले फेसबुकमा लेखेकी छन्— मतदान गर्दा सहिदहरूको बलिदान, वृद्धवृद्धाको निराशा, युवाको विदेशिनुपर्ने बाध्यता र बालबालिकाको भविष्य सम्झिनु जरुरी छ। सामाजिक र राजनीतिक विषयमा स्पष्ट धारणा राख्ने उनले केही समयअघि शीर्ष नेताहरू केपी ओली, गगन थापा र बालेन शाहलाई नीतिगत बहसमा उत्रिन चुनौतीसमेत दिएकी थिइन्। उनले यसपटकको होलीमा सम्पूर्ण नेपालीका लागि 'रंगीन विवेक' र सुशासनको कामना गरेकी छन्।







