रोल नं १ को नयाँ गीत ‘रङ्गीन सपना’ सार्वजनिक, बालमनका रंगीन कल्पनालाई स्वर

रोल नं १ को नयाँ गीत ‘रङ्गीन सपना’ सार्वजनिक, बालमनका रंगीन कल्पनालाई स्वर
रोल नं १ को नयाँ गीत ‘रङ्गीन सपना’ सार्वजनिक, बालमनका रंगीन कल्पनालाई स्वर

काठमाडौं/ दर्शकबाट सकारात्मक प्रतिक्रिया बटुलिरहेको नेपाली फिल्म रोल नं १ ले आफ्नो नयाँ सांगीतिक प्रस्तुति ‘रङ्गीन सपना’ सार्वजनिक गरेको छ। बालबालिकाका सपना, आकांक्षा र उनीहरूको सिर्जनात्मक संसारलाई केन्द्रमा राखेर तयार पारिएको गीतलाई निर्माण कम्पनीले फिल्मको भावनात्मक पक्ष उजागर गर्ने महत्वपूर्ण कडीका रूपमा प्रस्तुत गरेको छ।

हाल देशभर प्रदर्शनरत फिल्मको यो गीत सेभेन सिज सिनेमा को आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो। गीतले बालबालिकाको निष्कलंक सोच, उनीहरूका रंगीन कल्पना तथा शिक्षासँगै सीप र प्रतिभाको महत्वलाई कलात्मक ढंगले प्रस्तुत गरेको छ।

‘रङ्गीन सपना’ मा गायक उज्वल सागर को स्वर रहेको छ। गीतको संगीत, संगीत संयोजन तथा प्रोग्रामिङको सम्पूर्ण जिम्मेवारी पनि उनले नै सम्हालेका छन्। गीतका शब्द रोशन अधिकारी ले लेखेका हुन्, जसले बालमनको भावना र उत्साहलाई सरल तर प्रभावकारी शैलीमा अभिव्यक्त गरेका छन्।

निर्माण टिमका अनुसार गीतले फिल्मको मूल कथावस्तुलाई अझ नजिकबाट बुझ्न सहयोग पुर्‍याउनेछ। बालबालिकाको रुचि, क्षमता र सपनालाई अभिभावक तथा समाजले कसरी हेर्नुपर्छ भन्ने सन्देश गीतमार्फत पनि प्रस्तुत गरिएको छ।

बालमनोविज्ञान र वर्तमान शैक्षिक प्रणालीको कथालाई केन्द्रमा राखेर निर्माण गरिएको ‘रोल नं १’ ले शिक्षालाई केवल अंक र परीक्षामा सीमित नराखी बालबालिकाको प्रतिभा, रुचि र सीपको सम्मान गर्नुपर्ने विषय उठाएको छ। यही कारण फिल्मले विद्यार्थी, शिक्षक र अभिभावकमाझ विशेष चर्चा पाएको छ।

फिल्मका निर्देशक जोन योञ्जन हुन् भने कथा महेश दवाडी ले लेखेका छन्। निर्माणमा विनोद पौडेलजान्वी पौडेल को संयुक्त लगानी रहेको छ। फिल्ममा मुकुन भुसाल, सुशांक मैनाली, रेणु नाथ योगी, एवनराज उप्रेतीसिर्जना अधिकारी को अभिनय रहेको छ। साथै निर्भिक रेग्मी, रिन्चेन लामा, संयम कटुवाल र सिजल श्रेष्ठलगायत बाल कलाकारहरूको भूमिका पनि फिल्मको मुख्य आकर्षण बनेको छ।

निर्माण पक्षले नयाँ गीत सार्वजनिक भएसँगै फिल्मप्रति दर्शकको चासो अझ बढ्ने अपेक्षा गरेको छ। दोस्रो सातामा समेत सकारात्मक ‘वर्ड अफ माउथ’ पाइरहेको ‘रोल नं १’ ले बालबालिकाको सपना, शिक्षा र आत्मविश्वासको कथालाई दर्शकमाझ प्रभावकारी रूपमा प्रस्तुत गर्न सफल भएको प्रतिक्रिया प्राप्त गरिरहेको छ।