मिलन चाम्स निर्देशित फिल्म ‘अञ्जिला’को फर्स्टलुक पोस्टर सार्वजनिक

मिलन चाम्स निर्देशित फिल्म ‘अञ्जिला’को फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ । महाशिवरात्रि र नारी दिवसको अवसर पारेर शुक्रबार सार्वजनिक एक पोस्टरमा अभिनेता दयाहाङ राई र महिला राष्ट्रिय फुटबल टिमकी गोलरक्षक अञ्जिला तुम्बापो सुब्बालाई प्रस्तुत गरिएको छ । दयाहाङ ढाकाटोपी लगाएर मुस्कुराएको भावमा देखिएका छन् भने अञ्जिलाको फुटबल मोह दर्शाइएको छ ।

‘अञ्जिला’ गोलरक्षक सुब्बाको जीवनबाट प्रभावित भएर बनेको हो । यसैले उनले आफ्नो भूमिका आफैंले निभाएकी छन् । फिल्ममा मिरुना मगर, सिर्जना सुब्बा, माओत्से गुरुङ, प्रेम कुमार श्रेष्ठ, बुद्धि तामाङ, विजय बराल, हरि खड्का, मञ्जु श्रेष्ठ, वेदना राईको पनि अभिनय छ । गोलरक्षक अञ्जिलाकै जन्मथलो इलामको आइतबारेसहित झापा र काठमाडौँमा फिल्मको छायांकन भएको हो ।

सुदीप बरालको छायांकन रहेको फिल्मका सम्पादक मिलन श्रेष्ठ हुन् । मुन लभ इन्टरटेन्मेन्टको ब्यानरमा बनेको फिल्मका निर्माता प्रेम कुमार श्रेष्ठ हुन् भने सह-निर्मातामा विनोद अग्रवाल र राजेश बगडिया छन् । विनोद सुवेदी खत्री यसका निर्माण नियन्त्रक हुन् । निर्माता श्रेष्ठले अञ्जिलाको कष्टकर बाल्य जीवनदेखि सफल खेल जीवनसम्मको कथालाई फिल्ममा प्रस्तुत गरिएको बताएका छन् ।

निर्देशक चाम्सले आफ्नो करिअरमा यो फिल्मले फरक छाप छोड्ने विश्वास व्यक्त गरेका छन् । सफल खेलाडी बन्नुअघि अञ्जिलाले भोगेका दुःख र इच्छाशक्ति भएदेखि केही कुरा असम्भव हुँदैन भन्ने सन्देश फिल्मले दिने उनले बताए । निर्देशक चाम्सले यो फिल्म ठ्याक्कै अञ्जिलाको बायोपिक भने नभएको बताए । ७५ प्रतिशत अञ्जिलाकै जीवनी भए पनि बायोपिक नभएको उनको भनाई छ ।

२०८०, २५ फाल्गुन शुक्रबार १७:०५ मा प्रकाशित

सम्बन्धित शीर्षकहरु


मुख्य खबरहरु