एकसाथ तीन फिल्म ‘रङ्गेली’, ‘उपहार’ र ‘काँडेतार’ प्रदर्शनमा 

फागुनको तीन हप्ता नेपाली फिल्मबीच भिडन्त देखिएन । तीन हप्तामा तीन फिल्म रिलिज भए । तर, यो हप्ता एकसाथ तीन फिल्म ‘रङ्गेली’, ‘उपहार’ र ‘काँडेतार’ प्रदर्शनमा आएका छन् । शुक्रबार महाशिवरात्री तथा नारी दिवसको विदा भएकाले यी तीन फिल्म एकआपसमा भिड्न पुगेका हुन् । तर, तीनवटै फिल्मको विषयवस्तु फरक भएकाले दर्शकको दक्षित वर्ग पनि फरक हुनसक्छन् ।

तर, भिडन्तको असर तीनै फिल्मले शो बाँडफाँडमा बेहोर्नुपरेको छ । मल्टीप्लेक्सहरुले न्यून शो बाँडेका छन् । यी तीन फिल्ममा ६ करोड हाराहारी लगानी छ । त्यो उठाउन बक्स अफिसमा करिब १४ करोड व्यापार गर्नुपर्ने हुन्छ । त्यसमाथि शुक्रबारबाट बलिउड फिल्म ‘शैतान’ र हलिउड फिल्म ‘कुङ्ग फु पाण्डा ४.०’ पनि प्रदर्शनमा आएकाले तीनवटा नेपाली फिल्मलाई ठूलो चुनौती देखिन्छ ।

ग्याङस्टर जनरामा निर्माण भएको ‘रङ्गेली’लाई अर्जुन सुवेदीले लेखन तथा निर्देशन गरेका हुन् । यसमा दयाहाङ राई, मिरुना मगर, अर्पण थापा, प्रवीण खतिवडा, रमेश बुढाथोकी, रुपेश झा लगायतको अभिनय छ । सुशन प्रजापतिको छायांकन रहेको फिल्मका कार्यकारी निर्माताहरु जीतेन्द्र खतिवडा र अनुज जङ्ग थापा हुन् । निर्माताहरुमा भने संसार चौलागाईं र रमेश भट्टराई वशिष्ठ छन् ।

ज्ञानेन्द्र देउजा निर्देशित फिल्म ‘उपहार’मा भने रेखा थापा, पूजा शर्मा, बेनिशा हमाल, तेज गिरी, समर्पण जंग कार्की, शिशिर राणा, सुष्मा कार्की, राजाराम पौडेल, किरण केसी, अंशु महर्जन, विनोद पौडेल, आशा भुसाल, शोभारस घिमिरे, मन्जु श्रेष्ठ, कमल भट्ट, राइडर प्रशान्त, सरिता राजोपाध्याय लगायतको अभिनय छ । यो फिल्मबाट रेखा ५ वर्षपछि निर्माण र अभिनयमा फर्किएकी हुन् ।

त्यस्तै, ‘काँडेतार’लाई नवल खड्काले निर्देशन गरेका हुन् । उनी स्वयंको मुख्य भूमिका रहेको फिल्ममा मुरलीधर, प्रेम सुब्बा, गौरव पहारी, रेविका गुरुङ, सुरविना कार्की, परशुराम चौधरी, सञ्जय खतिवडा, राजेन्द्र भगत, पन्नालाल सिकदार आदिको पनि अभिनय छ । नेपाल र भारतको सीमा क्षेत्रमा काँडेतार लगाउनुपर्छ भन्ने अभियान बोकेको यो फिल्ममा सौरभ लामाको छायांकन छ ।

२०८०, २५ फाल्गुन शुक्रबार ०९:३४ मा प्रकाशित

सम्बन्धित शीर्षकहरु


मुख्य खबरहरु